About Us

बहुदलीय प्रजातन्त्रको प्रादुर्भाव पश्चात जातीय संघ-संस्था खोल्न पाउँने र सक्ने अनुकूल वातावरण बन्न थाले लगातै जातीय संघ-संस्था खोलेर समाजको हीतलाई प्राथमिकतामा राखेर अ-आफ्नै ढंगले दर्ता गर्ने होडबाजी नै चल्नथाल्यो । २४० बर्ष सम्म मौलिक हक,हित र अधिकारको प्रयोग गर्न नपाएकाहरुले स्वतन्त्रता महशुस भएपछी सामाजिक संघ-संस्था खोलेर जाति बिशेष समुदायको हकहित र अधिकारको लागि एकता,सदभाव,सत्प्रेम,समन्वय,सुसम्बन्ध र उत्तरोतर प्रगतिको लागि नेतृत्वमा पुर्याउन जे जसरि प्रयास गरे,ज्यादै प्रशंसानीय र उत्कृष्ट नै रह्यो ।

फलत :आज हामीले जे जति फल र प्रतिफल पाएका छौं,यी सबै अग्रजहरुले प्रयोग मात्र गरेर हेरेको थियो भन्दा अत्युक्ति नहोला । किनभने बहुदलीय प्रजातन्त्र भन्दा अघि एकात्मकवादी शासकहरु बाहेक अर्को कुनै पनि समुदायकाहरुले न त प्रयोग गर्न पाएका थिए न त महशूस नै गर्ने मौका पाएका थिए।

त्यसैले आफ्नो जाति बिशेष समुदायको परिणामहरु अझै आउन बाँकी होलान् । अब आउन सक्ने सकारात्मक परिणामहरुलाइ प्रमाणित गर्नको लागि च्याउसरी उम्रिसकेका,र उम्रिरहेका जाति बिशेष समुदायको माझमा २१औं शताब्दीको प्राबिधिक युगलाई आत्मसात गरि ग्लोबल सामाजिक संजाल लगायत अन्य प्राबिधिक माध्यम मार्फत विश्वभर छरिएर रहेका सम्पूर्ण तमू/गुरुङ हरुलाई भातृत्वभाव कायम गर्न,तमूहरुको हकहित र अधिकारको लागि तथा मौलिक धर्म संस्कार-संस्कृतिको लागि एकताको शूत्रमा बाँधेर अनन्तकालतक आदर्शमय समाज निर्माण गर्नको लागि सिर्जित पृथक सृजना हो “गुरुङ कम्यूनिटी फोटो ग्यालरी [Gurung Community Photo Gallery (GCPG) ] ” ।

माथिका शब्दहरु पढिरहँदा साम्प्रदायिकताको आरोप लाग्न सक्छ । यध्यपी सकारात्मक सोंच र बक्रदृष्टि लगाएर हेर्ने हो भने आजको म जस्तो यूवा पुस्ताहरुको दायित्व ,मर्यादा र नैतिकताले पनि दिदैन ।तर आफ्नो वर्ग,समुदाय र जातिको उन्नति-प्रगति हुनु पर्दछ भन्नु चाहि न्यायचित पनि होला । र साम्प्रदायिकता नथनियोस भन्ने सविनय अनुरोध गर्न चाहन्छु ।

यसो भनिरहदा धेरै बैगुन गुरुङहरु पनि होलान तर तमूहरुमा एउटा बिशिष्ठ खालको बंशीय र जैविक गुण पनि छ,त्यो हो :- आफ्नो जातजातिको लागि सहयोग गर्ने र गुण लगाउने व्यक्तिलाई कहिल्यै नबिर्सने र सधै आफ्नो भनि सम्झिरहने ।
त्यसैले तमू/गुरुङ समुदायले मात्र नभई अन्य समुदायकाहरुलाई पनि आ-आफ्नो हैसियतबाट सहयोग सधैका लागि पाइरहने छु र सहयोग गरिरहनु हुनेछ भन्ने अपेक्षा गरेको छु ।

अन्तत्वगोत्व हामी नेपाल भित्र र विश्वका जुनसुकै कुनामा बस्ने हामी सबैको पहिलो पहिचान भनेको वा चिनारी हाम्रो देश नेपाल अनि हामी भनेको नेपाली हौँ । भने दोश्रोमा आफ्नो जाति ।
विचार,आस्था र दृष्टिकोण फरक भएतापनि हाम्रो जतिको पहिचान वा चिनारी भने गुरुङ अर्थात तमू हो ।
नेपालमा बसोबास गर्ने विभिन्न जातिहरुमा पनि आफ्नै भाषा,संस्कार-संस्कृति,रहन-सहनको बिशेषता बोकेको जाति मध्ये एक हो तमू/गुरुङ ।

हाम्रो पूर्खाहरुले प्रतिकुल समयको बाबजुद पनि हाम्रो मौलिक धर्म-संस्कार-संस्कृति,भाषा,रहन-सहन उपहार स्वरूप हामीलाई छाडेर गएका छन् । यो हाम्रो सम्पति हो,सम्पदा हो ,हाम्रो पहिचान हो भने हाम्रो पुर्खाले आर्जेको ईज्जत,प्रतिष्ठा हाम्रो गौरव हो । मिलनसारिता,सहयोगी भावना,भातृत्व र बिरता हाम्रो बिशेषता हो । यी पुर्खेउली बिशेषता अनि छाडेर गएको उपहारहरुलाई संरक्षण ,सम्बर्द्धन र प्रवर्द्धन गर्नु आफ्नो दायित्व सम्झौं,यसलाई निरन्तरता दिऔ-नबिर्सौ भन्ने नाराबाट अभिप्रेरित भइ VISUALIZATION को माध्यम द्वारा जनचेतना फैलाउने,जानकारी दिने र लिने अनि GLOBALIZATION गर्ने हाम्रो उद्धेश्य हो , गुरुङ कम्यूनिटी फोटो ग्यालरी [Gurung Community Photo Gallery (GCPG) को गुरु योजना हो ।